दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Tuesday, June 10, 2014

दोलखामा जलबिद्यूत विकास

लक्ष्मण खड्का
दोलखाको सहरे गाविस स्थित किर्नेटारमा मुख्य सिभिल संरचनाहरु रहेको खिम्ति १ जलबिद्यूत आयोजना विदेशी लगानीमा निर्मित नेपालकै पहिलो र सवै भन्दा ठूलो जलबिद्यूत आयोजना हो । यो आयोजना सन् १९९६ मा निर्माण शुरु भई सन् २००० वाट बिद्यूत उत्पादन शुरु भएको थियो । नदी प्रवाह (रन अफ् दि रिभर) प्रकृतिको खिम्ति १ आयोजनाले दोलखा र रामेछाप जिल्लाको वीचमा बग्ने खिम्ति नदीको पानी उपयोग गरी ६० मेगावाट बिद्यूत उत्पादन गर्दैै आएको छ । यो आयोजनाले नेपालको बिद्यूत उत्पादन क्षमताको १० प्रतिशत बिद्यूत आपूर्ति गर्दछ र प्रति बर्ष लगभग ३५ करोड युनिट बिजुली नेपाल बिद्यूत प्राधिकरणलाई विक्रि गर्दछ ।
खिम्ति १ आयोजनावाट उत्पादित बिद्यूत नेपाल बिद्यूत प्राधिकरणले अमेरिकी डलरको भाउमा खरिद गर्दै आएको छ । प्राधिकरण र खिम्ति आयोजना वीच डलरको भाउमा बिद्यूत खरिद सम्झौता (पिपिए) भएका कारण खरिद दर महगो भई प्राधिकरण घाटामा गएको भन्दै पिपिए दरमा पुनरावलोकन हुनु पर्ने माग पनि यतिखेर जोडदार रुपमा उठ्दै आएको छ । पिपिए दर सम्झौता पुनरावलोकन गर्ने÷नगर्ने बिषयमा बिद्यूत प्राधिकरण र खिम्ति १ आयोजनाका प्रवद्र्धकहरुले टुंगो लगाउलान् । तर, खिम्ति १ आयोजना निर्माण पछि नेपालको जलबिद्यूत क्षेत्रको विकासमा निजी क्षेत्रको बढ्दो आकर्षण र यो आयोजनाले आयोजना प्रभावित क्षेत्रको सामूदायिक विकासमा पुयाएको योगदानलाई भने नूमना मान्न सकिन्छ । नेपालको समृद्धि र विकासका लागि प्रकृतिका दुई वटा बरदान हाम्रा सामू छन् । ति हुन, जलस्रोत र पर्यटन विकास । नेपालका नदिनालामा रहेको पानीलाई समूचित प्रयोग गर्न सके मात्रै पनि यसले नेपालीहरुलाई गरिवीवाट मुक्त गर्न सक्ने छ । नेपालको एक सय बर्षको विद्यूत विकासको ईतिहासलाई हेर्ने हो भने एकदमै धिमा गति देखियो । तर, जव नर्वेली र नेपाली कम्पनीको संयुक्त लगानीमा खिम्ति १ आयोजनाको निर्माण भयो त्यस पछि जलबिद्यूत विकास र जलस्रोतको उपयोगिताका बिषयमा राष्ट्रिय बहशको सुरुवात भएको हो । त्यति मात्र होईन, खिम्ति आयोजनामा नेपालको जलबिद्यूत क्षेत्रमै पहिलो र ठूलो नीजि लगानी भए पछि राष्ट्रिय र अन्तराष्ट्रिय निजी लगानीकर्ता अर्थात प्रवद्र्धकहरु जलबिद्यूत आयोजना निर्माणमा लगानीका लागि आकर्षित भएका हुन् । खिम्ति आयोजनाले नेपालमा जलबिद्यूतको विकास सम्भव भएको पुष्टि गरेर देखाएकै कारण अहिले मुलुकभरका नदिनाला तथा खोलाहरुमा बिद्यूत उत्पादनको सम्भाव्यताको अध्ययन भईरहेको छ । थुप्रै आयोजनाहरु निर्माणको चरणमा छन् भने निजी क्षेत्र पनि लगानीका लागि त्यत्तिकै उत्साहित छ ।
खिम्ति १ आयोजनामा नर्वेजियन कम्पनी एसएन पावरको बहुसंख्यक स्वामित्व र व्यवस्थापनको जिम्मेवारी रहेको छ । जसको स्वामित्व तथा सञ्चालन भने नेपाली कम्पनी हिमाल पावर लिमिटेडले गर्दछ । एसएन पावर जस्तो जलबिद्यूत विकासको क्षेत्रमा विस्वभर चर्चित कम्पनीलाई नेपालमा प्रवेश गराउने वातावरण खिम्ति आयोजनाले नैं निर्माण गरेको हो । जलस्रोत विकासको प्रचुर सम्भावना हुदाहुदै पनि आर्थिक अभावका कारण नेपाल स्वयंले ठूला आयोजनाहरु निर्माण गर्न सक्दैन । यो अवस्थामा एसएन पावरको नेपाल प्रवेश नेपालको जलस्रोत विकासका लागि एउटा कोसेढुंगा सावित भएको छ । यद्धपि एसएन पावरले जलबिद्यूतको क्षेत्रमा काम गर्दा आफ्नो हित अनुकुल बनाउनु नेपाल सरकारको दायित्व र जिम्मेवारी हुनेछ । एसएन पावरले सन् २०२० सम्ममा नेपालमा २००० मेगावाट बिद्यूत उत्पादन गर्ने लक्ष्य सहित भिजन हाईडो पावर २०२० तयार गरेको छ । त्यो मध्ये दोलखामा पर्ने ६ सय ५० मेगावाटको तामाकोसी तेश्रो, ६५ मेगावाटको किर्ने आयोजना, ३७ मेगावाटको खिम्ति २ लगायतका बिद्युत आयोजनाहरु रहेका छन् । एसएन पावरले अहिले स्वदेशी लगानीमा निर्माण भईरहेको ४५६ मेगावाटको बहु चर्चित माथिल्लो तामाकोसी आयोजनाको पनि सम्भाव्यता अध्ययन गरेको थियो । यो आयोजना अत्यन्तै आकर्षक र सस्तो आयोजना रहेको ठहर एसएन पावरले गरेको थियो । त्यसैले एसएन पावरको खिम्ति आयोजनामा भएको लगानी पछि दोलखाका नदिनालामा थुप्रै सम्भाव्यता अध्ययन भएका छन् ।
अध्ययनले दोलखा जिल्लामा मात्रै ३५ सय मेगावाट बिद्यूत उत्पादन गर्न सकिने देखाएको छ । जसले दोलखा जिल्लालाई बिद्यूत जोनको रुपमा विकास गर्दै लगेको छ । अझ यसो भनौं, एसएन पावरले प्रस्ताव गरेका आयोजनाहरु निर्माण हुने हो भने दोलखा जिल्ला मुलुककै सवै भन्दा बढि बिजुली उत्पादन गर्ने जिल्लामा पर्नेछ । जसका कारण मुलुकको आर्थिक विकासमा त टेवा पुग्ने नैं छ, त्याहा माथि स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना भई जिल्लावासी र सिँगो मुलुकको आर्थिक विकासमा ठूलो योगदान पुग्ने छ । बिद्यूत रोयल्टि वापत स्थानीय निकायले पाउने रकमले पनि दोलखाको विकासमा महत्वपूर्ण योगदान पुरयाउने छ । राजनीतिक अस्थिरता र स्थायी सरकार नभएकै कारण ६ सय ५० मेगावाटको तामाकोसी तेश्रो र ६५ मेगावाटको किर्ने लगायतका आयोजनाको काम अघि बढ्न सकिरहेको छैन । आयोजना अघि बढाउन अन्य प्राविधिक झन्झट पनि आईपरेको एसएन पावरका उच्च अधिकारीहरुको भनाई छ । तर, उसले निर्माणको योजनावाट हात नझेकेको हुँदा यथासक्य छिटो आयोजना निर्माणका लागि सरकारले वातावरण बनाउन आवस्यक छ । यसका लागि स्थानीय राजनीतिक दलको सामुहिक प्रतिवद्धता र दवाव पनि जरुरी छ ।
निर्माण सम्पन्न भएका, निर्माणधानि अवस्थामा रहेका र निकट भबिष्यमै निर्माण हुने जलबिद्यूत आयोजनाको लेखाजोखा गर्दा आगामी ६ बर्ष भित्र दोलखा जिल्लामा थप ६ सय मेगावाट भन्दा बढि बिद्यूत उत्पादन हुने भएको छ । स्वदेशि लगानीमा निर्माण भईरहेको माथिल्लो तामाकोसी र निजी क्षेत्रले निर्माण गर्ने ६ सहित ७ वटा जलबिद्यूत आयोजनावाट ५ सय ५८ दशमलव ५ मेगावाट बिद्यूत उत्पादन हुने भएको हो । यो सँगै ६ बर्ष पछि दोलखा जिल्लामा मात्रै ६ सय २७ मेगावाट बिद्यूत उत्पादन हुनेछ । कुनै अवरोध र प्राविधिक सँकट नआए ५ सय १३ दशमलव ५ मेगावाट बिद्यूत तिन बर्ष भित्रै उत्पादन हुनेछ । दोलखामा निर्मित खिम्ति १ आयोजनावाट ६०, सिप्रिङ खोलावाट १० र चर्णावति आयोजनावाट साँढे ३ मेगावाट गरी अहिले ७३ दशमलव ५ मेगावाट बिद्यूत उत्पादन भईरहेको छ । नेपाल बिद्यूत प्राधिकरणका अनुसार निर्माणाधिन अवस्थामा रहेको माथिल्लो तामाकोसी आयोजनावाट आगामी २०७३ साल असार सम्ममा ४ सय ५६ मेगावाट बिद्यूत उत्पादन हुनेछ । यस्तै, सोही अवधिमा सकिने गरी २५ मेगावाटको खानी खोला १ र ३० मेगावाटको खानि खोला आयोजना उत्तरी मार्वु गाविसमा निर्माण भईरहेको छ । यस्तै ५ मेगावाटको घट्टे खोला आयोजना पनि सोही गाविसमा निर्माणको चरणमा छ । साँढे दुई मेगावाटको जिरी खोला आयोजना पनि निर्माणाधिन अवस्थामा छ । जिरीमा निर्माण भईरहेको जिरी खोला आयोजनाको टर्वाईन जडानको काम जारी छ । यो आयोजना निर्माणाधिन अन्य आयोजना भन्दा चाँडै सम्पन्न हुनेछ । यसका अलावा एक मेगावाट भन्दा कम क्षमताका दुई वटा आयोजना निर्माणाधिन अवस्थामा छन् । सुष्पाक्ष्मावति गाविस स्थित कुथली जलबिद्यूत आयोजना र जिरी स्थित ढुँगे जिरी जलबिद्यूत आयोजना पनि निर्माणाधिन अवस्थामा छन् । यी दुई आयोजनावाट साँढे एक मेगावाट भन्दा बढि बिजुली उत्पादन हुनेछ ।
यस्तै, सरकारले प्रतिश्पर्धाका आधारमा निजी क्षेत्रलाई दिएको सुपर सिक्स आयोजना मध्ये दोलखामा पर्ने दुई वटा जलबिद्यूत आयोजनावाट आगामी २०७६ साल पुस मसान्त सम्म बिद्यूत उत्पादन हुने छ । सुपर सिक्स आयोजनामा परेको २४ मेगावाटको खारे खोला र १६ मेगावाटको सिँगटी खोला जलबिद्यूत आयोजना कार्यान्वयनको चरणमा रहेका छन् । दोलखामा निजी क्षेत्रले निर्माणको जिम्मा पाएका ५ वटै आयोजनाको बिद्यूत खरिद सम्झौता पिपिए पनि भईसकेको छ । प्राविधिक कठिनाई र स्थानीय स्तरमा कुनै अवरोध नआए यी सवै आयोजना पूर्व निर्धारित समयमा सम्पन्न हुने बिद्यूत प्राधिकरणको बिस्वास छ । नर्वेजीयन कम्पनी एसएन पावरले सम्भाव्यता अध्ययन गरेको ६ सय ५० मेगावाटको तामाकोसी तेश्रो जलबिद्यूत आयोजना पनि कार्याव्यन हुने सम्भावना छ । स्थिर राजनीति र सरकारको स्थायित्व भए तत्काल आयोजना कार्यान्वयनमा लैजाने एसएन पावरको तयारी छ । दोलखामै पर्ने ८७ मेगावाटको तामाकोसी पाँचौं आयोजनालाई सरकारले आफ्नै लगानीमा निर्माण गर्ने प्रस्ताव यसअघि नैं गरिसकेको छ । माथिल्लो तामाकोसी आयोजनाबाट विद्युत् उत्पादन गरेपछि टनेलबाट झर्ने पानीलाई सोझै नयाँ टनेल बनाएर तामाकोसी–पाँच जलविद्युत् आयोजना निर्माण गर्ने प्राधिकरणको योजना छ । सम्भाव्यता अध्ययन अनुसार तामाकोसी–पाँचौं को लागत करिब १४ अर्ब रुपैयाँ छ । पाँच वर्षमा यो आयोजना निर्माण गरिसक्ने लक्ष्य उर्जा मन्त्रालयको छ । समग्रमा भन्नु पर्दा दोलखामा जलबिद्यूत विकासको प्रचुर सम्भावना देखिन्छ । माथिल्लो तामाकोसी आयोजना निर्माणको सुरुवात सँगै तामाकोसी करिडोरमा निर्माण हुने आयोजना कार्यान्वयनका लागि ढोका खुलेको छ । आयोजना कार्यान्वयनका लागि पहिलो आधार मानिने प्रवेश मार्ग निर्माण भईसकेका कारण सहजता समेत भएको छ । तर, निर्माण सम्पन्न र निर्माणाधिन अवस्थामा रहेका केहि आयोजनामा देखिएका समस्या र विवादले लगानीको वातावरण बिग्रिने सँकेत पनि सँगसँगै देखा परेको छ । स्वदेशी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोसी आयोजना वाहेक निजी प्रवद्र्धकहरुले निर्माणको जिम्मा लिएका सवैजसो आयोजनामा समस्या देखिएको छ । यसमा प्रवद्र्धक कम्पनी, राजनीतिक दल र प्रभावित क्षेत्रका बासिन्दा कुनै न कुनै रुपमा दोषि छन् । निजी क्षेत्रका प्रवद्र्धकहरुको मिचाहा प्रवृत्ति र केहि स्थानीयको व्यक्ति स्वार्थ केन्द्रित क्रियाकलापले समस्या चुलिदै गएको छ । त्याहाँ माथि राजनीतिक दल, दलभित्र पनि बिशेष नेताको फेर समातेर प्राकृतिक श्रोत साधनको उपभोगको पहिलो अधिकार राख्ने स्थानीय माथि हुने बेवास्ता र दमन चुनौतिको रुपमा खडा भएको छ । जलबिद्यूत आयोजना निर्माण पछि मालिक मात्रै मोटाउने की प्रभावित क्षेत्रका बासिन्दा पनि मालिक बन्ने ? स्थानीय सरोकारका नाममा केहि व्यक्तिले मात्रै लाभ लिने कि समग्र प्रभावित क्षेत्रका बासिन्दाले सेयर लगानी, सामुदायिक विकासका काम लगायतमा समान अवसर पाउने ? प्रवद्र्धक कम्पनीले वातावरणीय प्रभाव मुल्याँकन (ईआए) र प्रारम्भिक वातावरणीय परिक्षण (आईइ) रिर्पोटमा उल्लेख भए अनुसारको जिम्मेवारी बहन गर्ने कि नगर्ने ?? स्थानीय श्रोत साधान प्रयोग गरे वापत स्थानीय सरकारलाई नियमानुसार राजस्व तिर्ने कि नर्तिने ? बहशको बिषय छ ।
दोलखामा हुने जलश्रोत विकासले दोलखा र दोलखा जिल्लावासीलाई मात्र होईन सिँगो मुलुकको विकासमा बिशेष महत्व राख्दछ । जलश्रोत विकास मुलुकको आर्थिक विकासको कोसेढुँगा भएकाले दोलखामा सम्भाव्यता अध्ययन भएका जलबिद्यूत आयोजनाहरु विना अवरोध निर्माणका लागि ढोका खुल्ला गर्नु, लगानी मैत्रि वातावरण सिर्जना गर्नु हामी सवैको कर्तव्य हो । यसका लागि सवै जलबिद्यूत आयोजनालाई सहज हुने गरी जिल्ला विकास समिति मातहर्त जलश्रोत डेस्क’ तत्काल बन्नु पर्छ । सोही डेस्क मार्फत आयोजना कार्यान्वयनमा देखिएका समस्याको सम्वोधन र आयोजनाले निर्वाह गर्नु पर्ने जिम्मेवारीको व्यवस्थापन गर्न सकिने छ । सम्पन्न भएका जलबिद्यूत आयोजना खिम्ति १ आयोजना ६० मेगावाट सिप्रिङ खोला आयोजना १० मेगावाट चर्णावति आयोजना ३.५ मेगावाट निर्माणाधिन माथिल्लो तामाकोसी आयोजना ४५६ मेगावाट खानि खोला १ २५ मेगावाट खानि खोला ३० मेगावाट जिरी खोला २.५ मेगावाट तत्काल निर्माण प्रस्ताव गरिएका तामाकोसी दोश्रो ६५० मेगावाट तामाकोसी पाँचौं ८७ मेगावाट किर्ने आयोजना ६५ मेगावाट खिम्ति २ आयोजना ३७ मेगावाट किर्ने खारे खोला २४ मेगावाट सिँगटी खोला १६ मेगावाट (सिँगटी)

0 comments:

Post a Comment