दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Thursday, March 20, 2014

आहा ! जुरिच जस्तै जिरी


लक्ष्मण खड्का
हरियालीले ढपक्क ढाकेका डाँडाकाँडा । जंगलको छेउछाउतिर तन्नाझैँ सरलक्क परेका चौरहरु । आँखाले भ्याएसम्म देखिने हिमश्रृङ्खला । आहा, मनै हर्ने खालकोे चिरिच्याट्ट परेको प्राकृतिक सौन्दर्य । जिरी पुग्ने सबैले सुन्दरताको अनुभुत गर्न सक्छन् । 
राजधानीदेखि १ सय ६० किलोमिटर टाढा चिनको सिमानामा रहेको हिमाली जिल्ला दोलखाको दुर्गम गाउँ थियो जिरी कुनैबेला । मात्र ३० बर्ष अघि सम्म पनि रैथाने जिरेल भाङ्ग्रा भिरेर हिँड्थे । यो स्वाभाविक थियो, यहाँको जीवन कष्टप्रद मात्र होईन त्यतिकै दयनिय पनि थियो । ढुङ्गे बजार क्षेत्र दबदबे हिलो भएको सिम क्षेत्र थियो । यहाँ बजार बन्ला भन्ने अनुमान समेत गर्न सकिन्नथ्यो । २०१० सालतिर तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारी जिरी हुँदै सगरमाथा जाँदा घना जंगलमुनि रहेको यो गाउँको समथर भु—भागमा स–साना छाप्रे वस्ति देख्न सकिन्थ्यो रे । सगरमाथा प्रवेशद्धारको रुपमा रहेको यो गाउँ हुँदै पर्यटकहरु ओहोर दोहोर गरिरहँदा स्थानीय जिरेलहरु फुल दिएर स्वागत र बिदाई गर्थे । 

तर, त्यहि जिरी अहिले सुन्दर पर्यटकीय नगरीको रुपमा परिणत भएको छ । स्वदेशी र विदेशी पर्यटकहरु भ्रमणका लागि जिरीलाई नैं रोज्न थालेका छन् । विशेषत जिरीमा केहि बर्ष यता आन्तरिक पर्यटकको चाप बढ्दो छ । प्राकृतिक स्वरुप हेर्दा झन्डै स्विट्जरल्यान्डको झलक दिने जिरीको प्राकृतिक छटाले दिन प्रतिदिन पर्यटकहरु मोहित बनिरहेका छन् । आन्तरिक होस् या बाह्य पर्यटकको रोजाई बनेको अहिलेको जिरी त्यत्तिकै पर्यटकीय नगरी भने बनेको होईन । जिरीको पूर्वाधार निर्माण र पर्यटन विकासको ईतिहास निकै लामो छ । २००७ सालतिर टोनि हागनको एक समुह सगरमाथा क्षेत्रमा जाने क्रममा जिरीमा बास बसेको थियो । त्यसको तीन बर्षपछि स्वीस विज्ञ डाक्टर सुल्टेसले पूर्वी तराई  घुमेर सगरमाथा क्षेत्र हुँदै काठमाण्डौँ फर्कने क्रममा जिरीमै रात बिताएका थिए । सुल्टेसले काठमाण्डाँैदेखि सगरमाथा सम्मका जिल्लाको जिरीलाई केन्द्र बनाई बसोवास स्थल र जिविकोपार्जनका लागि पशुपालन गर्न उपयुक्त हुने ठहर गर्दै सरकारलाई प्रतिवेदन बुझाएका थिए । 


त्यसपछि जिरीको विकास गर्न स्वीस सरकारले निकै चासो देखायो । स्वीस सरकारकै खर्च र प्राबिधिक सहयोगबाट जिरीमा यातायात, बिद्युत, खानेपानी, सञ्चारजस्ता विकासका पूर्वाधारले सम्पन्न भयो । स्वास्थ्यका लागि अस्पताल, प्राबिधिक शिक्षालय, क्याम्पस, पशु विकास कार्य र याकको चिज पनि जिरीको विशेषताको रुपमा रहेको छ । स्वीस सरकारले श्रृङ्खलाबद्ध रुपमा बहुमुखी विकासमा सहयोग गरेर जिरीवासिलाई ठुलो गुण लगाएको छ । स्वीसको सहयोग नहुँदो हो त जिरीको यति साह्रो विकासको कल्पना समेत गर्न सकिन्नथ्यो । २०१४ सालमा जिरी बहुउद्घेश्यीय विकास आयोजना (जिएपडिपि) प्रारम्भ भएपछि जिरीमा विकासको मुल फुट्न थालेको हो । 
स्वीसहरु २०१३ सालदेखि नै जिरीको बहुमुखी विकासमा जुटेका थिए । पहिलेको दबदबे हिलो रहेको अहिलेको ढुङ्गे बजारको जमिन मुनि प्रशस्तै ड्रेनहरु बनाएर पानी तर्काई बस्न योग्य बनाए, स्वीसहरुले जिरीलाई । ती ड्रेन अहिले पनि देख्न सकिन्छ । यसरी पानी तर्काएपछि मात्र जिरीको ढुङ्गेमा अहिले लिङ्कन बजार बनेको हो । स्वीसकै सहयोगमा जिरीमा खोलिएको नेपालकै पहिलो प्राबिधिक शिक्षालयले मुलुकमा प्रशस्तै रोजगारीका अवसर सिर्जना गर्दै आएको छ । दूधालु स्वीस गाईहरुबाट किसानलाई लाभान्वित गराउने काम पनि निकै लोकप्रिय बन्न पुग्यो । स्वीस सरकारको सहयोगमा २०१८ सालमा जिरी कृषि केन्द्रको स्थापना गरी पशु विकास कार्यक्रम सुरु भएको हो । दूधका लागि उत्कृष्ट मानिले होलिस्टाईन र ब्राउन स्वीस जातको विस्तार नेपालमा जिरीबाटै सुरु भएको भन्ने भनाई छ । सरकारले यहीँबाट उन्नत गाई प्रजनन गरी देशभर पु¥याएको कर्मचारी बताउँछन् । 

स्वीसले जिरी निर्माण गर्ने क्रममा हाटडाँडा मुनि पट्टि (अहिले सैनिक व्यारेक भएको ठाउँमा) हवाई मैदान निर्माण ग¥यो । २०१९ सालमा निर्माण भएको सो मैदानमा २०२० सालमा राजा महेन्द्र आएका थिए । हाटडाँडामुनिको विमानस्थलमा अवतरण गर्न आएको पिलाटस पोटर जहाज दुर्घटनाग्रस्त भएपछि लगत्तै ढुङ्गे बजारमुनि अर्को हवाई मैदान निर्माण गरियो । २०४२ सालमा जिरीमा पक्कि सडक पुगेपछि भने यहाँको हवाई सेवा ओझेलमा प¥यो । पर्यटकल चार्टर गरेर ल्याउने हेलिकोप्टर वाहेक अरु वेला जिरी विमानस्थल गौचरणमा परिणत भएको छ । 
नेपाल र स्वीटजरल्यान्ड भूगोल र हावापानीको हिसाबले मिल्दोजुल्दो त छँदैछ  । तर, पनि जिरीलाई नै स्वीसहरुले बिशेष सहयोग किन गरे ? यसको आधिकारीक उत्तर पाउन अलिक अप्ठ्यारो छ । तर, विज्ञहरु स्वीटजरल्यान्डको सबैभन्दा ठुलो सहर जुरिच र जिरीको भौगोलिक स्वरुप तथा हावापानी उस्तै भएकोले स्वीसहरु आकर्षित भएको हुन सक्ने अनुमान लगाउँछन् । उनीहरुले जिरीमा निर्माण गरिदिएका विकासे संरचनाहरुको स्वरुप पनि स्विटजरल्यान्डको जस्तै छ । बिशेषत काठको बढी प्रयोग गरी बनाईएका जिरीका छरिता भवनले स्वीटजरल्यान्डकै सम्झना गराउँछ । जुरिच सहर ठुलो भए पनि सहरको वरिपरिका डाँडाकाँडा र हरियाली जंगलले जिरीको याद दिलाउँछ । जुरिच ठुलो छ, जिरी सानो तर, भौगोलिक स्वरुप भने भिन्न छैन । जुरिच र जिरीको हावापानी पनि मिल्दोजुल्दो छ । 

जिरीको हनुमन्ते डाँडाजस्तै जुरिचको विटलीवर्ग नामको डाँडो छ । यी दुई डाँडाबाट हेर्दा देखिने दृष्य पनि उस्तैउस्तै लाग्दछ । फरक यति हो जुरिचमा ताल छ  जिरीमा छैन । तर जुरिचमा तालको निकास भएको सहरको दक्षिणपट्टि दुई डाँडाबीचबाट पानीको निकासको झलक र जिरी खोलाको निकास भएको स्वरुप भने उस्तै छ । प्रचुर पर्यटकीय महत्व बोकेको जिरीलाई सगरमाथा प्रवेशद्धार, मिनि ठमेल, चिजको खानी, नेपालको स्वीटजरल्यान्ड लगायतका उपनामले पनि चिनिन्छ । विदेशी पर्यटकले धेरै मन पराउने याक चिजको मुख्य उत्पादन  र निकासी पनि जिरीबाट हुने गर्दछ । स्वीस प्रबिधिको यो परिकारका लागि २०१३ सालदेखि नै जिरीमा कार्यक्रम सुरु भएको होे । 
राणा शासन सकिएको सात बर्ष नबित्दै जिरीमा स्वीसको सहयोगमा धमाधम विकासका गतिबिधि सुरु भैसकेका थिए । त्यसैले पनि स्थानीय बूढापाकाहरु स्वर्गिय टोनी हेगन र स्वीस नागरिक डाक्टर सुल्टेसलाई चाहेर पनि बिर्सन सक्दैनन् । टोनी हेगनको मृत्यु हँुदा यहाँका धेरै बुढापाकाहरुको आँखामा आँसु छचल्किएको थियो । विदेशीको सहयोगमा नेपालको अन्य भू–भाग भन्दा अगाडि नै जिरीमा धेरै विकासे योजना सम्पन्न भए पनि त्यो अवस्था जस्ताको तस्तै छैन । सबै कार्यक्रमहरु र त्यसको पूर्वाधार सुचारु छैनन् । दिनप्रतिदिन पूर्वाधार भग्नावशेष हुँदै गएका छन् । मर्मत सम्भार हुन सकेको छैन 
तर, पनि स्विसले निर्माण गरि दिएको पूर्वाधार, विगतमा सगमारमाथाको प्रवेश द्धारको रुपमा परिचित र प्राकृतिक मनोरमताका कारण जिरी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको सँख्या बर्षेनी बढ्दो छ । अहिले पनि कतिपय विदेशी पर्यटकहरु जिरी सम्मको बस यात्रा पछि पैदल सगरमाथा आधार शिविर सम्म पुग्न चाहन्छन् । मौसम खराव भएका बेला सोलुखुम्वुमा रहेका पर्यटकहरु पैदल मार्गवाट जिरी हुँदै राजधानी फर्किन्छन् । हेलिकोप्टर चार्टर गरेर लुक्ला जाने पर्यटकहरु पनि जाँदा होस् या फर्किदा जिरीमा आउने गरेका छन् । २०६८ सालमा पनि एकैसाथ ५ वटा हेलिकोप्टरमा फ्रान्सेली पर्यटक जिरी आएका थिए ।  

हवाई मार्ग मार्फत धेरै पर्यटक सोलु जान थाले पछि केहि सुस्ताएको जिरीको पर्यटन व्यवसाय अहिले फेरि गुलजार छ । जिरीवाट सगरमाथा आधार शिविर वा लुक्ला सम्म बर्षेनी आयोजना हुने म्याराथन प्रतियोगिताले फेरि एक पटक जिरीको पर्यटन प्रवद्र्धनमा टेवा पुरयाएको छ । अन्तराष्ट्रिय स्तरको यो प्रतियोगिताले जिरीलाई देश, विदेश सम्म चिनाउन अझ बढि मद्धत पुगेको छ । यति हुँदाहुँदै पनि जिरीमा आन्तरिक पर्यटकहरुको कुनै कमी छैन । मुख्यगरी जिरेल, शेर्पा लगायतका जनजातिको बसोबास रहेको जिरी नेपालको प्रमुख पर्यटकीय गन्तव्य मध्य एक मानिन्छ । आफैंमा सुन्दर रहेको जिरीवाट एक दिनको “प्याकेज टुरमा” पर्यटक निस्किए भने अझ बढि प्राकृतिक सुन्दरतासँग लुकामारी गर्न पाउने छन् । जिरी देखि चेर्दुङ र जिरी देखि हनुमन्तेडाँडा सम्मको यात्रामा चौंरी गोठ, ग्रामिण जनजीवन, चौंरी र भेडाका ताँति देख्न सकिन्छ ।

बिशेषगरी चेर्दुङ र हनुमन्तेवाट देखिने रोल्वालिङ हिमश्रृङला र अन्य हिमालहरुको दृश्यावलोकनको कुरै नगरौं । नाङ्गो आँखाले नजिकै देख्न सकिने त्यो दृश्य वास्वतमै अनुपम छ । जिरी आउने पर्यटकहरुले जिरी हुँदै माली गाविसको हलेसि मन्दिर र खावामा रहेको बैशाखेस्वर महादेवको गुफा सहितको मन्दिर दर्शन गर्न पाउने छन् । जिरेलहरुको घना बस्ति रहेको सिक्रि लगायतका जिरेल बस्ति र बुलडाँडाको शेर्पा बस्ति सम्म पुग्ने पर्यटकहरुले जिरेल र शेर्पा जातिको साँस्कृतिक नृत्य, स्वागत, सत्कार र खानाका परिकारहरुको फरक स्वाद पनि लिन पाउने छन् । त्याहाँ माथि जिरीको चियावारी पनि अर्को एउटा गन्तव्य हो । 

1 comments:

  1. Laxman Sir, I like your articles but in photos the text "Photo by Laxman Khadka" should be dim coz..it blocks the beauty of lovely pictures and scenes.

    ReplyDelete