दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Tuesday, June 10, 2014

च्छो रोल्पा बिष्फोटको खतरा कायमै

२७ जेठ २०७१ । दोलखाको रोल्वालिङ हिमश्रृङखलामा पर्ने च्छो रोल्पा हिमताल बिष्फोटको खतरा अझै टरि नसकेको अनुषन्धानकर्ताहरुले बताएका छन् । जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकमा सँयुक्त राष्ट्रसँघिय विकास कार्यक्रम (युएनडिपि), जल तथा मौसम बिज्ञान विभाग तथा स्थानीय अधिकारीहरुले च्छो रोल्पा हिमताल बिष्फोटको उच्च खतरा रहेको बताएका हुन् । बैठकमा युएनडिपिका आयोजना अधिकृत दिपक केसीले च्छो रोल्पा हिमतालको आकार बर्षेनी बढिरहेको भन्दै फुट्न सक्ने खतरा कायमै रहेको बताए । पानीले ताल भरिएर वा भुकम्प लगायतका कारणले हुने कम्पनले पनि च्छो रोल्पा बिष्फोट हुन सक्ने जोखिम रहेको केसीको भनाई छ । यसअघि च्छो रोल्पा हिमतालका बारेमा लामो अनुषन्धान गरेको ईसिमोड नामक सँस्थाले पनि यस्तै जोखिम औंल्याएको थियो ।
यस्तै, हालै मात्र च्छो रोल्पाको स्थलगत अवलोकन भ्रमण गरेर फर्किएका दोलखाका प्रमुख जिल्ला अधिकारी एवँ जिल्ला दैविक प्रकोप उद्धार समितिका अध्यक्ष प्रल्हाद पोखरेलले पनि च्छो रोल्पा बिष्फोटको सन्त्रास भयावह भएको भन्दै उच्च सर्तकता अपनाउनु पर्ने बताए । हिमतालमा पानिको चाप बढ्नुका साथै बलौटे माटो समेत झरिरहेको भन्दै प्रजिअ पोखरेलले बिष्फोटको त्रास हटि नसकेको जानकारी दिए । नेपालका २१ वटा हिमताल बिष्फोटको जोखिममा रहेकोमा ६ वटा उच्च जोखिममा पर्ने बिभिन्न अध्ययनले देखाएको छ । त्यस मध्ये च्छो रोल्पा हिमताल सवैभन्दा बढि जोखिममा रहेको छ । जलवायु परिवर्तन र तापक्रम बृद्धिसँगै च्छो रोल्पा हिमतालमा पानीको सतह बर्षेनी बढ्दै गएको छ । सोही कारण च्छो रोल्पा आसपासमा रहेका साना हिमाल पग्लिएर तालको आकार बढ्दै गएको हो । सतह बढेपछि ईसिमोडको सहयोगमा सन् २००० मा हिमतालवाट पानी बाहिर निकास हुने व्यवस्था मिलाई ३ मिटर सतह घटाईएको थियो । च्छो रोल्पा बिष्फोट भए तामाकोसी जलाधार क्षेत्रमा रहेका दोलखा, रामेछाप र सिन्धुलीका बस्तिहरु प्रभावित हुने भएपनि हिमतालवाट ५५ किलो मिटर क्षेत्र सम्म सवैभन्दा बढि असर पर्ने अध्ययनले देखाएको छ भने ७५ किलो मिटर सम्मको दुरीमा क्षेति पुग्ने छ । च्छो रोल्पा हिमताल देखि ५० किलो मिटरको दुरीमा ११, ५० देखि ७५ किलो मिटरको दुरीमा १४ र ७५ देखि १०० किलो मिटरको दुरीमा ९ वटा गाविस पर्दछन् ।
च्छो रोल्पा बिष्फोट भए सवैभन्दा पहिलो हिम आरोहीहरुको गाउँ ना र बेदिङ प्रभावित हुनेछ । हिमतालको ठिक तल पट्टि पर्ने यी दुवै गाउँ गौरीसँकर गाविसमा पर्दछन् । अध्ययन अनुसार हिमताल बिष्फोट भए १० मिनेट भित्र ना गाउँ, १५ मिनेटमा बेदिङ, ३० मिनेटका गोँगर, ४५ मिनेटमा जगत, ५० मिनेटमा सुरी गाविसको भोर्ले बजार र एक घण्टामा सिँगटी बजार प्रभावित हुनेछ । पूर्व सूचना प्रणाली राखिने च्छो रोल्पा हिमताल बिष्फोटको खतरालाई लक्षित गरी रोल्वालिङ र तामाकोसी जलाधार क्षेत्रमा समुदायमा आधारित पूर्व सूचना प्रणालीको स्थापना गरिने भएको छ । युएनडिपिको सहयोग तथा नेपाल सरकार र स्थानीय निकायको समन्वयमा करिव २ करोड ५० लाख रुपैयाँ बराबरको लागतमा पूर्व सूचना प्रणाली स्थापना गर्न लागिएको युएनडिपिका आयोजना अधिकृत दिपक केसीले जानकारी दिए । युएनडिपिले बिष्फोटको उच्च जोखिम रहेको च्छो रोल्पा हिमताल र चितवनको माडि क्षेत्रमा पूर्व सूचना प्रणाली स्थापना गर्न लागेको हो । च्छो रोल्पामा सूचना प्रणाली स्थापनाका लागि चाँडै काम सुरु हुनेछ । यसका लागि प्रारम्भिक अध्ययन पूरा भई आवस्यक उपकारण खरिद र स्थापनाका लागि बोलपत्र समेत आव्हान भईसकेको छ । जस अनुसार रियल टाईम सोलुसन नामक कम्पनीले सूचना प्रणाली स्थापनाको काम गर्नेछ ।
समुदायमा आधारित पूर्व सूचना प्रणाली अन्तर्गत हिमतालको सतह, बाढि तथा बर्षा मापनका लागि बिभिन्न स्थानमा मापन केन्द्रहरु राखिने छ । जस अनुसार बेदिङ गाउँमा फल्ड स्टेसन, च्छो रोल्पा हिमताल, गोँगर र जगत गरी चार स्थानमा जल सतह मापन केन्द्र, ८ वटा स्थानमा बर्षामापन केन्द्र तथा गोँगर प्रहरी चौकी र जिल्ला प्रशासन कार्यालयमा पूर्व सूचना केन्द्र राख्ने तयारी भईरहेको छ । ति केन्द्रले एक÷एक मिनेटमा पानीको वहावका बारेमा जानकारी दिनेछ । सूचना प्रणालीले च्छो रोल्पा हिमतालमा कुनै समस्या आए तत्कालै ईन्टरनेट वा स्याटेलाईट प्रविधिवाट साईरन तथा एसएमएस मार्फत बिपद्का बारेमा जानकारी दिनेछ । सो जानकारी च्छो रोल्पा हिमतालको फेदिमा रहेको बेदिङ गाउँदेखि जिल्ला प्रशासनमा रहने बिपद् व्यवस्थापन केन्द्र र गृह मन्त्रालयमा रहने केन्द्र सम्म एकैसाथ जानकारी गराउने जल तथा मौसम विज्ञान विभागका हाईड्रोलोजिकल ईन्जिनियर रक्कि ताल्चाभडेलले जानकारी दिए । पूर्व सूचना केन्द्र स्थापना भएपछि मापन केन्द्रहरुमा साईरन बज्ने, मोवाईल सेवा उपलव्ध स्थानमा मोवाईल सेटमा म्यासेज आउने र प्रभावित क्षेत्रका बासिन्दालाई जोखिमवाट बच्न सहज हुने दोलखाका स्थानीय विकास अधिकारी टुवराज पोखरेलले बिस्वास व्यक्त गरे । च्छो रोल्पा हिमताल बिष्फोटको सम्भावित खतरालाई मध्यनजर गर्दै ईसिमोडले पनि ना र बेदिङ गाउँ देखि खिम्ति सम्म १९ वटा साईरन जडान गरेको थियो । तर, ति साईरनहरु अहिले काम नलाग्ने अवस्थामा पुगेका छन् ।

0 comments:

Post a Comment