दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Tuesday, June 10, 2014

कर्मचारीको लापरवाहीका कारण एउटै कित्ताको दोहोरो धनिपूर्जा

२५ जेठ २०७१ । कर्मचारीको लापरवाहीका कारण दोलखाको ठूलोपातल गाविस वडा नम्बर १ का अधिकाँश जग्गाधनिको लालपूर्जा बिग्रिएको छ । जिल्ला नापी कार्यालय र मालपोत कार्यालयका कर्मचारीको लापरवाहीका कारण ठूलोपातल वडा नम्बर १ का बासिन्दाको जग्गाधनि पूर्जा बिग्रिएको हो । नापी कार्यालयका कर्मचारीले फिल्ड बुक नहेरी प्लट रजिस्टर र नक्सा तयार पारेर कित्ता काट गरेको र सोही आधारमा मालपोत कार्यालयले जग्गाधनि पूर्जा जारी गरेका कारण समस्या भएको हो । नापी कार्यालयको प्लट रजिस्टर, नक्सा र कित्ता काटमा भएको त्रुटिका कारण ठूलोपातल १ का जग्गाधनिको ५४ कित्ता जग्गाको दोहोरो धनिपूर्जा बनेको छ । २ सय ३२ कित्ताको धनिपूर्जा गलत प्लट रजिस्टरकै आधारमा जारी भएको छ ।
ठूलोपातल १ की ९३ बर्षिया हिरामाया तामाङ आफ्नो नामको जग्गा धनिपूर्जा कित्ता काट गरी छोराहरुको नाममा नामसारी गर्न आएपछि नापी कार्यालयको गलत प्लटर रजिस्टरका आधारमा एउटै कित्ताको दोहोरो धनिपूर्जा जारी भएको रहस्य सार्वजनिक भएको हो । हिरामायाको नाममा रहेको ११११, १११४ र १११८ नम्बरको कित्ता ठूलोपातलकै अन्य नागरिकको धनिपूर्जामा समेत रहेको छ । नापी कार्यालयका अनुसार ११०१ देखि ११२७ नम्बर कित्ता जग्गाको दोहोरो धनिपूर्जा जारी भएको छ । २०६२ कात्तिक महिना भन्दा अघि ११२७ नम्बर कित्ता सम्म फिल्ड बुक तयार भएपनि नापी कार्यालयका कर्मचारीले फिल्ड बुक नहेरी पुन ः ११०१ नम्बर कित्तावाट प्लट रजिस्टर तयार पारेका कारण सर्वसाधारण जनताहरु मारमा परेका हुन् । त्यस यता १३ सय ५९ नम्बर कित्ता सम्म गरी २ सय ५८ वटा धनिपूर्जा बितरण भईसकेको छ ।
दोहोरा धनिपूर्जा हुनेमा ठूलोपातल वडा नम्बर १ अन्तर्गत ठूलोपातल, भुसुने, खोलाखर्क लगायतका वासिन्दा छन् । जिल्ला नापी कार्यालय दोलखाका प्रमुख रामप्रसाद तिमल्सिनाले द्धन्द्ध कालमा कार्यालयमा राखिएको फिल्ड बुक, नक्सा र प्लट रजिस्टर जलेको र शान्ति प्रक्रिया पछि नयाँ रजिस्टर बनाउँदा त्रुटि भएको बताए । तत्कालिन फाँटवालाको लापरवाहीका कारण दोहोरो धनिपूर्जा जारी भएको भन्दै उनले सवै कित्ता सुधार गर्ने जानकारी दिए । नापी कार्यालयको गल्तिका कारण मालपोत कार्यालयको श्रेस्ता समेत बिग्रिएको छ । मालपोत कार्यालयका प्रमुख चन्द्रमणि अर्यालले विगतको गल्तिका कारण नयाँ कित्ता कायम गरी दोहारो जारी भएका सवै धनिपूर्जा सच्याउनु पर्ने बताए । ठूलोपातलका अगुवा पदमलाल पाख्रिनले नापी र मालपोत कार्यालयको लापरवाहीका कारण सर्वसाधारण नागरिक समस्यामा परेको गुनासो गरेका छन् । उनले कर्मचारीको लापरवाहीका कारण दोहोरो धनिपूर्जा जारी भएको हुँदा नापी र मालपोतको टोलि गाउँमै गएर नयाँ धनिपूर्जा बितरण गर्नु पर्ने माग गरे ।

0 comments:

Post a Comment