दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Sunday, June 15, 2014

साँढे दुई बर्षमा पनि चरिकोट कारागार बनेन

२९ जेठ २०७१ । निर्माण व्यवसायीको लापरवाहीका कारण दोलखा सदरमुकाम चरिकोट स्थित कारागार भवन निर्माण कार्य साँढे दुई बर्ष देखि अलपत्र परेको छ । २०६९ साल मँसिर महिनामा सम्पन्न हुनु पर्ने कारगार भवन निर्माण कार्य साँढे दुई बर्ष सम्म पनि अघि बढ्न नसकेको हो । निर्माण व्यवसायीको ढिलासुस्तिका कारण कारगार भवन निर्माण सम्पन्न हुन अझै कम्तिमा १८ महिना कुर्नु पर्ने देखिएको छ । साँढे दुई बर्ष अघि निर्माण सम्पन्न हुनु पर्ने कारागार भवनको बल्ल सिल लेवल (झ्याल मुनि) सम्मको पर्खाल उठाउने काम मात्रै भएको छ । भवन निर्माणमा ढिलासुस्ति हुँदा चरिकोट कारागार प्रशासनलाई कैदि र थुनुवाको व्यवस्थापन गर्न समस्या भएको छ । सहरी विकास तथा भवन निर्माण विभागले भने लापरवाही गर्ने निर्माण व्यवसायीलाई कारवाही गर्नुको सट्टा उल्टै तेश्रो पटक म्याद थप गरेको छ । यसअघि विभाग र डिभिजन कार्यालय काभ्रेपलान्चोकले ६÷६ महिना गरी एक बर्ष म्याद थप गरेको थियो । पछिल्लो पटक थप गरिएको एक बर्षिय म्याद अनुसार भवन निर्माण कार्य आगामी मँसिर मसान्त सम्म पुरा गर्नु पर्नेछ । यसअघि गत पौष १३ गते सम्झौता अवधि सकिएको थियो । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय काभ्रेपलान्चोकका प्रमुख दिलिप भण्डारीले विभागवाट म्याद थप भएको स्विकार गर्दै थपिएको अवधि भित्र पनि काम सम्पन्न नभए जरिवाना लगाउने निर्णय समेत भएको जानकारी दिए । निर्माण व्यवसायीले समयमा काम नगरी ढिलासुस्ति गरे सम्झौता रकमको १० प्रतिशत जरिवाना गर्न पाउने कानूनी व्यवस्था छ । ‘अन्तिम पटक म्याद थपिएको छ,’ प्रमुख भण्डारीले नयाँ पत्रिकासँग भने, ‘अव काम नगरे उम्किने ठाउँ छैन ।’ सुरुको बर्ष साईड नपाएको र पुरानो भवन भत्काउँदा निस्किएको ढुँगामाटो व्यवस्थापन नगर्दा ढिलाई भए पनि पछिल्लो अवस्थामा निर्माण व्यवसायीको लापरवाहीका कारण समस्या भएको उनको भनाई छ । करिव ८० जना कैदि अट्न सक्ने दुई तले कारागार भवन निर्माणका लागि २०६८ साल कार्तिक १३ गते खम्पाछे निर्माण सेवा प्रालिले भ्याट बाहेक ६१ लाख ४८ हजार ४ सय ८५ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सोही अवधिमा सम्झौता भएको १५ कैदि अटाउने क्षमताको महिला कारागार भवन भने दुई बर्ष अघि नैं निर्माण सम्पन्न भईसकेको छ । खम्पाछे निर्माण सेवाले कामको सम्झौता गरे पनि फर्म सँचालक आङदावा शेर्पाले उमेश भण्डारीलाई कामको जिम्मा दिए थिए । २०६८ कार्तिक १३ गते ठेक्का सम्झौता गरेको खम्पाछे निर्माण सेवाले निर्माण कार्य सुरु नैं नगरी २०६९ र्कािर्तक १४ गते काम गर्न साईड नपाएको भन्दै डिभिजन कार्यालयमा निवदेन दिएको थियो । त्यसपछि डिभिजन कार्यालयले २०६९ फागुन २२ मा साईड उपलव्ध भएको जानकारी गराएको थियो । त्यस यता काम सुरु गरेको १३ महिना बिते पनि भवन निर्माण कार्य सुस्त भएको हो । खम्पाछे निर्माण सेवा प्रालिका प्रतिनिधि उमेश भण्डारीले राणाकालिन चरिकोट कारागारको पुरानो भवन भत्काउन र ढुँगामाटो पन्छाउन ढिलाई भएका कारण समयमा काम गर्न नसकेको दावी गरेका छन् । ‘पुरानो भवन भत्काएर ढुँगामाटो व्यवस्थापनको काम समयमै हुन सकेन । पछि बर्षाका कारण सकिएन,’ निर्माण कार्य ढिलाई हुनुको कारण वारे प्रस्टयाउँदै उनले भने, ‘अलिअलि मेरा पनि कमजोरी भए होला । अव चाँहि निरन्तर काम अघि बढ्ने छ ।’ कारागार भवन निर्माणमा ढिलाई भएपछि स्थानीय प्रशासनले पनि ताकेता गर्दै आएको छ । कैदि र थुनुवाको विजोग चरिकोट कारागारमा क्षेमता भन्दा बढि थुनुवा र कैदि भएपछि समस्या भएको छ । १५ जना क्षेमताको चरिकोट कारागारमा थुनुवा र कैदि गरी ७१ जना पुगेपछि व्यवस्थापनमा समस्या भएको हो । चरिकोट कारागारमा अहिले ४३ जना कैदि र २८ जना थुनुवा रहेका छन् । कम क्षेमताको चरिकोट कारागारमा ७१ जनालाई व्यवस्थापन गर्नु परेपछि कारागार प्रशासनले झमेला व्यहोर्नु परेको छ भने थुनुवा र कैदिलाई भान्छा कोठा देखि भरयाङ मुनि समेत सुताउनु परेको छ । चरिकोट कारागारका प्रमुख औलखवहादुर आलेले क्षमता भन्दा बढि थुनुवा र कैदि भएका कारण व्यवस्थापन गर्न कठिन भएको बताए । निरिक्षणका लागि आएका कारागार विभागका प्रमुख शम्भु कोईरालालाई समेत कारागार प्रमुख आलेले क्षमता भन्दा बढि थुनुवा र कैदिको व्यवस्थापन गर्न नसकेको भन्दै उचित व्यवस्था मिलाई दिन आग्रह गरेका छन् । निरिक्षणको क्रममा चरिकोट कारागार पुगेका विभाग प्रमुख कोईरालालाई कैदि तथा थुनुवाले आफुहरुले न्यूनतम सुविधा समेत नपाएको र गर्मि मौसममा कोचिएर लाईन लागेर सुत्नु परेको भन्दै गुनासो पोखेका थिए । ८० जना अट्न सक्ने पुरुष कारागार भवन निर्माणमा ढिलाई भएका कारण पनि यस्तो समस्या भएको हो ।

0 comments:

Post a Comment