दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Sunday, March 9, 2014

जिविस दोलखाको परिषद २१ नेता र कर्मचारीको पट्यार लाग्दो भाषण



२५ फागुन २०७० । जिल्ला विकास समिति दोलखाको २० औं जिल्ला परिषदमा २१ जना नेता तथा कर्मचारीले पट्यार लाग्दो भाषण गरेका छन् । 
स्थानीय विकास अधिकारी टुवराज पोखरेलको अध्यक्षतामा आईतवार दिउँसो १२ बजे पछि सुरु भएको जिल्ला परिषद निकै लामो र पट्यार लाग्दो भाषणका कारण साँझ साँढे ६ बजे सम्म चलेको हो । तर, करिव ७ घण्टा चलेको परिषदमा नेताको भाषण वाहेक नयाँ कुरा नपाएको भन्दै सहभागिहरुले असन्तुष्टि जनाएका छन् । जिल्ला परिषदका निर्णय सार्वजनिकिकरण भनिएको कार्यक्रममा गाविस हक हित सँरक्षण केन्द्र दोलखाका अध्यक्ष स्याकृष्ण थापादेखि प्रमुख अतिथि सभासद पशुपति चौंलागाई सम्म गरी २१ जनाले भाषण गरेका हुन् । उद्घाटन समारोहमा भरिभराउ भएपनि कार्यक्रम पट्यार लाग्दो भएपछि मञ्च र सभा हल रित्तिदै गएको थियो । जिविसले यो पटकको जिल्ला परिषदमा दोलखाका नागरिक समाजलाई निम्तो समेत दिएन भने परिषदमा सहभागि भएका सर्वसाधारण जनता, बिषयगत कार्यालय तथा गैर सरकारी सँघ÷सँस्थाका प्रतिनिधिहरुले सुझाव राख्ने अवसर समेत नपाएको भन्दै असन्तुष्टि जनाएका छन् । 


हल रित्तिए पछि सभासद आनन्दप्रसाद पोखरेलले आफ्नो मन्तव्यको क्रममा हल बाहिर र भित्र गरिरहनु भएका गाविस सचिवज्यूहरु भन्दै व्यँग्यात्मक सम्वोधन गरेका थिए । यस्तै, अर्का सभासद पार्वत गुरुङले पनि जिल्ला परिषदको गरिमा र आकर्षण घटेको भन्दै समिक्षा गर्नु पर्ने दिन आएको टिप्पणी गरे । बक्ताको अन्तिम तेश्रो लाईनमा परेका दोलखाका प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले पनि म सहित १९ जनाको भाषण सुन्नुभयो, धेरै कुरा बोल्दिन भनेर व्यँग्य गरेका थिए । २० औं जिल्ला परिषदमा पूर्व दुई जना सभापति लालकुमार केसी र रुद्रवहादुर खड्का बाहेक अन्य पूर्व जनप्रतिनिधि सहभागि भएनन् । निवर्तमान ६ जना सभासद र एमाले वाहेक अन्य ठूला दलका जिल्ला प्रमुखहरु परिषदमा सहभागि नभएका हुन् । परिषदमा नेपाली काँग्रेसका कार्यवाहक सभापति कृष्णवहादुर खड्का, एकिकृत नेकपा माओवादीका पूर्व राज्य समिति सदस्य गोपाल पाण्डे, राप्रपा नेपालका उपाध्यक्ष नवराज श्रेष्ठ मात्रै सहभागि थिए । जिविसले केन्द्रमा नेतृत्व गर्ने नेतालाई केन्द्रिय नेताको हैसियतमा नबोलाउने तयारी गरे पछि एकिकृत माओवादीका केन्द्रिय सदस्य सँकर लामा सदरमुकाममै भएर पनि परिषदमा गएनन् भने राप्रपाका केन्द्रिय सदस्य नरवहादुर पाख्रिनलाई पनि जिल्ला अध्यक्षको हैसियतमा मात्रै बोलाईएको थियो । 
यसैवीच नेपाल पत्रकार महासँघ दोलखा शाखाका सचिव एवँ कान्तिपुर टेलिभिजनका दोलखा सँवाददाता केदार शिवाकोटि विकास पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । जिविस दोलखाले स्थापना गरेको ५ हजार पुरस्कार राशित र कदर पत्र सहितको पुरस्कारवाट शिवाकोटिलाई पहिलो पटक पुरस्कृत गरिएको हो । जिविस दोलखाले बिषयगत कार्यालय तर्फ जिल्ला पशु सेवा कार्यालयका डाक्टर रामचन्द्र सापकोटा, स्वास्थ्य कार्यालयका अहेव रामकृष्ण मास्के, स्थानीय निकाय तर्फ भिमेस्वर नगरपालिकाका अधिकृत माधवप्रसाद सुवेदी, सुष्पाक्षमावति गाविसका कार्यालय सहायक गणेशवहादुर खड्लाई पनि नगद ५ हजार र कदर पत्र सहित सम्मान गरेको छ । २० औं जिल्ला परिषदको अवसरमा दोलखाका प्रमुख जिल्ला अधिकारी र निर्माण व्यवसायी मानवहादुर तामाङ पनि कदरपत्र सहित सम्मानित भएका छन् । 




0 comments:

Post a Comment